४८ प्रतिशत जनसंख्यामा पुग्यो बिमा, प्रिमियम संकलन दुई खर्ब २७ अर्ब
काठमाडौं। मुलुकमा बिमा क्षेत्रको दायरा विस्तार हुँदै गएको सरकारी तथ्यांकले देखाएका छन्। हाल बिमाका सबै परिसूचकहरू बढेका छन्। कुल बिमालेख संख्या, बिमाशुल्क संकलनमा वृद्धि भएको नेपाल बिमा प्राधिकरणले जनाएको छ।
गत वर्ष बिमा पंहुच पाँच प्रतिशत बढेको छ। जारी भएको म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बिमालेखसहित बिमाको दायरामा आएको संख्या ४८.३३ प्रतिशत पुगेको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त संख्या ४३.९५ प्रतिशत थियो।
कुल बिमालेखमध्ये जीवन बिमाको ८४ र निर्जीवन बिमाको हिस्सा १५.९ प्रतिशत छ । अघिल्लो वर्षको जेठसम्म यस्तो हिस्सा क्रमशः ८३.९ र १६.१ प्रतिशत थियो।
लघु जीवन तथा निर्जिवन बिमा कम्पनीले कारोबार सुरु गरेपछि बिमा गाउँमा पुगेको छ । प्राधिकरणले निर्जिवन र जीवन बिमा व्यवसाय गर्न सात निर्जीबन बिमा कम्पनीलाई इजाजत (लाइसेन्स) दिएको छ।
बिमा प्रिमियम रकम बढेर दुई खर्ब २७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त रकम एक खर्ब ७० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ थियो । जसअनुसार जीवन बिमा शुल्क एक खर्ब ८२ अर्ब २७ करोड र निर्जीवन बिमा शुल्क ४४ अर्ब ९१ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ।
गत जेठसम्म जारी भएको बिमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७ प्रतिशत बढेको छ। गत जेठसम्म बिमालेख संख्या बढेर एक करोड ८४ लाख २५ हजार २३० पुगेको छ । यस अवधिको कुल बिमा प्रिमियम रकममा जीवन बिमा र निर्जिवन बिमातर्फको हिस्सा क्रमशः ७९.६ र २०.४ प्रतिशत छ।
यस अवधिमा वैदेशिक बिमालेख, म्यादी र लघु म्यादी बिमालेख तथा निर्जीवन बिमालेखमा उल्लेख्य वृद्धि भएको छ। यद्यपि, जीवन बिमालेख संख्यामा कमी आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल बिमालेख संख्या एक करोड ६८ लाख २ हजार २४८ थियो।
प्राधिकरणका अनुसार हालसम्म ३७ बिमा कम्पनीले व्यवसाय सञ्चालनको इजाजत पाएका छन्। जसमध्ये दुई पुनर्बिमा कम्पनी, १४ जीवन बिमा कम्पनी, १४ जीवन बिमा कम्पनी र सात लघुबिमा कम्पनी सञ्चालनमा रहेका छन्।


द पात्रो संवाददाता