चिलिमेले ४५ मेगावाटको चुमचेत स्यार खोला आयोजना बनाउने, चार वर्षमा सक्ने योजना
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ४५ मेगावाटको चुमचेत स्यार खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। आयोजनाबाट बिजुली उत्पादन इजाजत (लाइसेन्स) का लागि चिलिमेले विद्युत विकास विभागमा निवेदन दिएको हो।
विभागले चिलिमेलाई आयोजनाको लाइसेन्स दिन प्रक्रिया अघि बढाएको छ। कम्पनीले ३५ दिनपछि आयोजनाबाट बिजुली उत्पादन गर्न लाइसेन्स पाउनेछ। आयोजना नदीको प्रवाहमा आधारित (आरओआर) हो। आयोजना आगामी ४ वर्ष अर्थात् सन् २०२९ मा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
गोरखा जिल्लाको चुमनुव्री गाउँपालिकाको वडा नम्बर ५ र ६ मा आयोजना रहने गरी स्यार खोलाको पानीलाई उपयोग गरी बिजुली उत्पादन गर्ने लक्ष्य छ।
आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका साथै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तयार भइसकेको छ। चुमचेत स्यार खोला जलविद्युत आयोजनाको डिजाइन बहाव १३.८५ घनमिटर प्रति सेकेण्ड रहेको छ।
आयोजनाको कुल हेड ३८२ मिटरबाट पानी खसालेलर आयोजनाबाट वार्षिक सरदर २५ करोड ३१ युनिट बिजुली विद्युतिय ऊर्जा उत्पादन हुने चिलिमेले गरेको अध्ययनले देखाएको छ।
उत्पादित ऊर्जालाई २२० केभी सिङ्गल सर्किट विद्युत प्रसारण लाइन मार्फत बुढीगण्डकी प्रोक जलविद्युत आयोजनाको स्वीचिङ स्टेसनमा जोडिने छ। तत्पश्चात बुढीगण्डकी प्रोक जलविद्युत आयोजना, बुढी गण्डकी प्रोक–१ जलविद्युत आयोजना र चुमचेत स्यारखोला जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई ७० किलोमिटर लामो एकीकृत २२० केभी डबल सर्किट विद्युत प्रसारणलाइनमार्फत लापाङ बिहारथोक सवस्टेसनमा जोडिनेछ।
चार जलविद्युत आयोजना बनाउँदै चिलिमे
चिलिमे जलविद्युतले चार जलविद्युत आयोजना अघि बढाएको छ। चिलिमेले ८७ मेगावाटको सेती नदी–३ अर्धजलासय, ८१ मेगावाटको बुढीगण्डकी प्रोक, ९१ मेगावाटको बुढी गण्डकी र ४५ मेगावाटको स्यारखाला आयोजना निर्माणको काम अघि बढाएको हो। आयोजनाको जडित क्षमता ३ सय ४ मेगावाट छ।
विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम चिलिमे इन्जिनियरिङ सर्भिसेस लिमिटेडबाट भएको छ। चारवटै आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने भएको छ।
बुढीगण्डकी प्रोक जलविद्युत आयोजना बनाउन १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। बुढीगण्डकी प्रोकबाट २०८५ भदौ २८ मा विद्युत उत्पादन प्रस्ताव गरिएको छ।
आरओआर आयोजनाबाट वार्षिक ४४ करोड ७० लाख ३० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखिाएको छ।
आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा रहने भएको छ। नदीमा बाँध बाँधेर बिजुली उत्पादन गर्न पानी भूमिगत विद्युतगृहमा लगिने छ। आयोजनाको तीनवटा एक्सिस फ्रान्सिस टर्बाइनमा पानी खसाली विद्युत उत्पादन गरिने छ।
आयोजनाबाट उत्पादन हुने बिजुली १५ किलोमिटर दुरीमा रहेको २२० केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको लिपाङ बिहारथोक सबस्टेसनमा जोडिने छ। बुढीगण्डकी प्रोक र सेती आयोजना बनाउन कूल ३६ अर्ब १२ करोड रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ।
बुढीगण्डकी प्रोक विद्युतगृहदेखि नजिकको सबस्टेसनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्ने छ। आयोजना गोरखाको चुमनब्री गाउँपालिकाको वडा नम्बर ४ र ५ मा पर्छ। र्धजलाशय सेती नदी–३ को १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ लागत रहने अनुमान छ। पश्चिम सेती जलविद्युत परियोजनाको माथिल्लो भागमा अवस्थित एसआर–३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङमा पर्छ।
पश्चिम सेती जलविद्युत परियोजनाको माथिल्लो भागमा अवस्थित एसआर–३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङ्गममा पर्छ।
सेती करिडोरका जलविद्युत परियोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोड्नका लागि भारत सरकारको सहुलियत ऋण (लाइन अफ क्रेडिट) सुविधामा चैनपुर–वनलेक–न्यू अत्तरिया ४०० केभी क्षमताको १५० किलोमिटर लामो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत कार्यान्वयन हुँदैछ।
परियोजनाको विद्युत गृहदेखि चैनपुरसम्म जोड्ने १६ किलोमिटर प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ। त्यस्तै, बुढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ।
बाँधमा ३ लाख घनमिटर क्षमताको पोखरी बन्ने छ आयोजनाको सुरुङ ४.२ किलोमिटर लामो हुनेछ।आयोजनाको विद्युतगृह जयपृथ्वी नगरपालिकाको सुतियामा हुने भएको छ। आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत प्राधिकरणले प्रस्ताव गरेको चैनपुर सबस्टेसनमा जोडिने भएको छ।
आयोजनाबाट बझाङको जयपृथ्वीका साथै खप्तछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, छविसपाथिमेर गाउँपालिका र थलारा गाउँपालिका प्रभावित हुने आयोजनाले जनाएको छ। चिलिमेले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको १ सय ११ मेगावाटको चिलिमेले सहायक कम्पनीबाट चार आयोजना सम्पन्न गरी २७० मेगावाट बिजुली उत्पादन गरिरहेको छ।
चिलिमेले २२ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ। ४ वटा आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि चिलिमे आर्थिक रुपमा सबल हुन गई लगानीकर्तालाई बढी प्रतिफल दिन सक्षम हुने छ।


द पात्रो संवाददाता