३ मंसिर २०८२, बुधवार | पात्रो

किन कमजाेर हुँदैछ अमेरिकी डलरसामु नेपाली रुपियाँ?

द पात्रो संवाददाता ४ भदौ २०८२, बुधवार

काठमाडौं। अमेरिकी डलरको मूल्य पुनः ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ डलरबराबर १३९.४३ रुपैयाँ बिक्री दर तोकेको छ।

 

अमेरिकाले भन्सारदर (ट्यारिफ) बढाएर दोब्बर बनाएपछि भारतीय रुपैयाँ (भारु) कमजोर हुँदा यसको असर नेपाली रुपियाँमा पर्न गएको थियो। भारु कमजोर बन्दा डलर मजवुत हुन गई १४१ रुपैयाँ नजिक पुगेको थियो। यो सातादेखि डलर कमजोर हुन थालेको हो।

 

गत जेठसम्म १३६ रुपैयाँ हारहारीमा रहेको डलर इरान र इजरायबीचको युद्धले बलियो बनेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण गत माघमा डलरको मूल्य बढेर १४१ रुपैयाँ पुगेको थियो।

 

नेरुको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुमा आउने उतारचढावले नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ। बुधबार एक डलरबराबर ८७.१४ भारु कायम भएको छ।

 

गत आर्थिक वर्षको ११ महिनामा नेपालमा डलर सञ्चिती बढेर १८ अर्ब ६५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। डलर बलियो हुँदा आयातित वस्तु थप महँगो हुन्छ भने आयातित कच्चा वस्तुको भाउ बढेर उद्योगको उत्पादन लागत बढ्नेछ।

 

विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ।

 

डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् भने रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने गरेको छ। गत वर्षको ११ महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशत वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

 

विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड राखेको छ। राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशत बढेर गत जेठमा २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। नेपालसँग १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति छ।

 

यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ। विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउछन्।

 

यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ। डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ। यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ।

 

अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ। नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ। विश्व बैंकले ब्याज दोब्बर बढाएकाले आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिने भएकोे छ। आगामी आर्थिक वर्षमा सरकारले तीन खर्ब ७५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ । गत वर्ष सरकारले तीन खर्ब २० अर्ब रुपैयाँ ऋण तिरेको छ।

 

विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ। विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्नेछ।

 

डलर बलियो हुने जोखिम कायमै रहेको देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाएपछि दुई मुलुकबीच असमझदारी बढ्दै आएकोमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेपछि यसको ठूलो असर व्यापारमा पर्ने भएको छ।

 

भारतलाई ट्यारिफ दोब्बर बढाएर ५० प्रतिशत लागू गर्ने आदेश बिहीबारबाट कार्यान्वयनमा आउँदै छ। भारतले हाल रुसी तेल आयात गरिरहेकाले अमेरिकाले भारतबाट आउने सबै उत्पादनहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको स्पष्ट पारेका छ।

 

अमेरिकाको ट्यारिफले गर्दा डलर सञ्चिती घटेको भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मल्होत्राले जानकारी दिएका छन् । अहिलेको सञ्चितीले भारतमा ११ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने बताइएको छ।

 

भारतले अमेरिकामा झण्डै ९० अर्ब डलरको वस्तु निर्यात गर्दै आएको छ। ५० प्रतिशत भन्सार शुल्क लगाएपछि भारतीय वस्तु झनै महंगो हुन गई निर्यातमा गिरवाट आउने र यसले विदेशी विनिमय सञ्चिती घटाउने छ।

 

राष्ट्रपति ट्रम्पले पारस्पारिक आधार (रिसोप्रोकल) मा दुई मुलुकबीच व्यापार हुनुपर्नेमा जोड दिँदै आएका छन्।

लेखकको बारेमा

द पात्रो संवाददाता

पात्रो अपडेट
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

नेपालमा बढ्दो पुष्प व्यवसायः नौ अर्ब लगानी, वार्षिक साढे तीन अर्बको कारोबार

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

४८ प्रतिशत जनसंख्यामा पुग्यो बिमा, प्रिमियम संकलन दुई खर्ब २७ अर्ब

सुनको मुल्य आजपनि बढ्यो, २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार

भदौ २९ देखि सुकिला नोट साट्न पाइने, कहाँ कहाँबाट पाइन्छ?

अग्रिम शुल्क लिएर दुई जलविद्युत आयोजना दिने सरकारको तयारी, विभागले माग्यो प्रस्ताव

चिलिमेले ४५ मेगावाटको चुमचेत स्यार खोला आयोजना बनाउने, चार वर्षमा सक्ने योजना

होटल आर्टस् काठमाडौं लिलामी गर्दै वाणिज्य बैंक, न्यूनतम मूल्य ४८ करोड १७ लाख

सुनचाँदीको मूल्य घट्यो, घटेको मूल्य कति ?

अर्थमन्त्री पौडेलको प्रस्तावमा बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त शरद ओझा पदमुक्त, अरु नियुक्ति पनि विवादित