ओलीलाई रोक्न भण्डारी–पोखरेलबीच गठबन्धन: एमाले महाधिवेशन निर्णायक मोडमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशन अब आन्तरिक शक्ति–संघर्षको खुला रंगभूमि बन्ने निश्चित भएको छ। अध्यक्ष केपी शर्मा ओलीको तेस्रो कार्यकाल योजनालाई रोक्न पूर्वराष्ट्रपति विद्या देवी भण्डारी र वरिष्ठ नेता ईश्वर पोखरेलको संयुक्त मोर्चा पूर्ण प्यानलसहित प्रतिस्पर्धामा उत्रने तयारीमा छ।
मंसिर २७–२९ गते भृकुटीमण्डपमा हुने महाधिवेशनलाई ओली ‘निर्विरोध’ पार्ने रणनीतिमा थिए। तर भण्डारी–पोखरेल समूहले त्यसलाई सिधै चुनौती दिँदै पोखरेललाई अध्यक्षमा प्रतिस्पर्धामा उतार्ने निर्णय अन्तिम चरणमा पुगेको स्रोतहरूले जनाएका छन्। पार्टीभित्र धेरैले स्पष्टै भन्छन्—“पोखरेलको उम्मेदवारी भनेको भण्डारीको प्रत्यक्ष नेतृत्व हो।”
गत साउनमा ओलीले भण्डारीको दोस्रो वर्ष नवीकरण भइसकेको सदस्यता रोक्न दिएपछि भण्डारी पूर्ण असन्तुष्ट बनेकी थिइन्। त्यो असन्तुष्टि अहिले संगठन–व्यापी राजनीतिक प्रतिरोधमा रूपान्तरित हुँदैछ।
एमालेका एक पदाधिकारी भन्छन्, “मदन भण्डारीको विचार र फोटो हटाएर ओलीले आफ्नै चित्र राख्न थालेपछि भण्डारी परिवार पूर्ण रुपमा टकरावको मोडमा पुगेको हो। अहिले भित्रैबाटै नेतृत्व भण्डारीले गरिरहनुभएको छ।” ओलीले विधान संशोधनमार्फत तेस्रो कार्यकालको बाटो खोलीसकेका छन्। केही दिनअघि उनले भनेका थिए, “सोझै नेतृत्व चयन हुन्छ, धेरै छलफल हुँदैन, मैले बोलेर महाधिवेशन समापन गर्छु।”
विपक्षी समूहले यसलाई ‘सर्वसम्मतको ढोका बन्द गर्ने घोषणा’ का रूपमा व्याख्या गर्दै पूर्ण प्रतिरोधको मोडमा पुगेको हो।
भण्डारी–पोखरेल समूह भन्छ—“ओलीलाई कुनै हालतमा सर्वसम्मत अध्यक्ष बन्न दिइँदैन।” सचिव योगेश भट्टराई खुला रूपमा ओलीको तेस्रो कार्यकालविरुद्ध छन्। उनले भनेका छन्,
“नेतृत्व हस्तान्तरण आवश्यक छ। जसले प्रतिस्पर्धा गर्छ म उसैलाई सहयोग गर्छु।”
उपाध्यक्ष युवराज ज्ञवाली पनि “नेतृत्व प्रतिस्पर्धाबाटै टुंगिन्छ” भन्दै ओलीको एकलौटी योजनाको मुखर विरोधमा उभिएका छन्। सचिवालयका १८ मध्ये कम्तीमा पाँच सदस्य—युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट—पहिले नै भण्डारी–पोखरेल पक्षमा उभिइसकेका छन्। अन्य शक्तिशाली नेताहरू अझै मौन छन्, जसले प्रतिस्पर्धालाई अझै अनिश्चित र रोचक बनाएको छ।
तल्लो तहका २,१०० भन्दा बढी प्रतिनिधि चयन भइसकेका छन्। भण्डारी–पोखरेल पक्ष उनीहरूलाई “ओलीको एकलौटी नेतृत्व रोक्न विवेक प्रयोग गर्न” अपिल गर्ने सर्कुलर निकाल्ने तयारीमा छ।
एमालेका एक वरिष्ठ नेता भन्छन्, “ओलीले मनोनयन रोकिने, सभामै बोल्न नदिने जस्ता तयारी गरेको चर्चा छ। तर अहिले त्यो सम्भव छैन। भण्डारीको असन्तुष्टि र पोखरेलको महत्वाकांक्षा मिलेर महाधिवेशन अप्रत्याशित बन्नेछ।”
यो महाधिवेशनले ओलीको एकलौटी ढाँचालाई पुनः स्थापित गर्छ कि पार्टी नयाँ मार्गमा लाग्छ—यही प्रश्नले समग्र वाम राजनीति नै परिभाषित गर्नेछ। मंसिर २७ पछि एमाले पुरानै एमाले रहन्छ कि नयाँ मोडमा प्रवेश गर्छ—अब धेरै दिन बाँकी छैन।


द पात्रो संवाददाता