३ मंसिर २०८२, बुधवार | पात्रो
विचार

विशेष महाधिवेशन कांग्रेस सुधारको निर्विकल्प माध्यम होइन

द पात्रो संवाददाता २८ असोज २०८२, मङ्गलवार

शारदा लामा । नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक आन्दोलनको धरोहर र नेतृत्व प्रदान गरेको दल हो। यही पार्टीबाट देशले प्रजातन्त्र, संविधान र बहुदलीय प्रणाली पाएको हो। तर विगत केही वर्षयता कांग्रेसभित्र नेतृत्वप्रति असन्तोष, संगठनमा निष्क्रियता र नीतिगत अस्पष्टता बढ्दै गएको देखिन्छ। कतिपय असन्तुष्ट समूहहरूले जेन जेड आन्दोलन देखाएर मौकाको रुपमा पार्टिभित्र  विशेष महाधिवेशनको माग गर्दै नेतृत्व परिवर्तनको आवाज उठाइरहेका छन्। तर यो बिषय अहिलेको परिस्थितिमा न त व्यावहारिक छन्, न त संस्थागत दृष्टिले जायज।

 

अहिले जुन विषम परिस्थिति छ यस हिसाबले कांग्रेसमा विशेष महाधिवेशनको माग जायज देखिँदैन। पार्टीलाई बलियो बनाउने बाटो आकस्मिक विद्रोह होइन, अहिलेको  आवस्यकता त सभ्य र संस्थागत परिवर्तन सहित वर्तमान नेतृत्वको सम्मानजनक बिदाई हो। पार्टी सभापतिले यसअघि नै विभिन्न सार्बजनिक कार्यक्रमहरुमा म अब पार्टीबाट बिदा हुन्छु । तपाईहरु नेतृत्व लिन तयार हुनुस भनेर भनिसक्नुभएको छ । त्यसैले नेतृत्वले यस्तो भनिसकेको अवस्थामा विशेष महाधिवेशन भन्नु हाम्रो पार्टीभित्रको उन्नत लोकतन्त्र होइन भन्ने मेरो बुझाइ हो ।

 

अहिलेको नेतृत्वको सम्मानज्नक बिदाइसहित नियमित महाधिवेशनको तयारी गर्नु नै लोकतान्त्रिक परम्परासँग मेल खाने बाटो हो। लोकतन्त्रमा नेतृत्व परिवर्तनको प्रक्रिया संस्थागत हुनुपर्छ, व्यक्तिगत असन्तुष्टि वा गुटगत हितका आधारमा होइन।

 

आजको कांग्रेसभित्र समस्या शिर्ष नेतृत्वको मात्र होइन, पदाधिकारी सहित जिम्मेवारिमा रहेका विभिन्न तहका नेता र संगठनात्मक संरचनाको पनि छ। बुथदेखि जिल्ला र केन्द्रसम्म पार्टीको कार्यशैलीमा लामो समयदेखि जनसम्पर्क कमजोर देखिन्छ। न त कार्यकर्ताले आफ्नो मत सुन्ने वातावरण पाएका छन्, न त नीतिगत बहसमा सहभागी हुने मौका। त्यसैले आगामी महाधिवेशन बूथदेखि सुरु हुनुपर्छ, जहाँ प्रत्येक कार्यकर्ताले भाग लिन पाउने अधिकार होस्। यही बाटोले कांग्रेस पुनर्जीवित हुन्छकांग्रेसले समयसापेक्ष नीतिगत स्पष्टता ल्याउन सकेको छैन। नयाँ पुस्ता, विशेषतः ‘जनरेशन जेड’ र ‘अल्फा’ पुस्ता, पुराना नाराबाट प्रेरित हुँदैनन्; उनीहरूलाई पारदर्शिता, परिणाम र नीति–आधारित राजनीति चाहिन्छ। तर पार्टी अझै पनि पुरानै शक्ति सन्तुलन र व्यक्ति–केन्द्रित सोचमा अड्किएको छ। पार्टीले यदि युवालाई विश्वास गर्न सकेन भने, लोकतान्त्रिक विकल्पका रूपमा आफूलाई पुनःस्थापित गर्न गाह्रो हुनेछ।

 

त्यसका लागि कांग्रेसभित्रको पहिलो काम आत्ममूल्यांकन हो। जनतासँग जोडिने राजनीतिक संस्कृति पुनःस्थापित गर्न नेतृत्वले साहस देखाउनुपर्छ। सत्ता र संगठनबीचको सन्तुलन बिग्रँदा नै पार्टीमा असन्तुष्टि बढेको हो। सत्तामा हुँदा जिम्मेवारी र संगठनमा हुँदा अनुशासन — यी दुई गुण पुनर्जीवित नगरेसम्म कांग्रेसको पुनर्जागरण सम्भव छैन।

 

अर्को महत्वपूर्ण कुरा, पार्टीभित्रको विचारधारात्मक बहसलाई पुनः सक्रिय गर्नुपर्छ। लोकतन्त्रको नाममा संस्थागत ढाँचा निष्क्रिय हुँदा नेतृत्व गुटको बन्दी बन्न पुग्छ। त्यसैले आगामी महाधिवेशनले कांग्रेसको आर्थिक नीति, संघीयता, सामाजिक न्याय र सुशासनमा नयाँ दृष्टिकोण ल्याउन जरुरी छ। संविधानको मर्मअनुसार दलभित्रको लोकतन्त्र नहुने हो भने बाह्य लोकतन्त्र पनि असल रहँदैन।

 

कांग्रेस अहिले पनि देशको प्रमुख राजनीतिक शक्ति हो। उसको कमजोर नेतृत्वले मात्र जनताको विश्वास घटाएको हो, लोकतान्त्रिक आदर्श अझै पनि कांग्रेससँगै बाँचेको छ। त्यसैले अहिलेको आवश्यकता नेतृत्वमाथिको व्यक्तिगत आक्रोश होइन, सुधारको समन्वित आन्दोलन हो। बूथदेखि केन्द्रसम्म सहभागीता, युवाको नेतृत्वमा नयाँ ऊर्जा, र आन्तरिक लोकतन्त्रकै अभ्यास — यही बाटो हो जसले कांग्रेसलाई पुनः राष्ट्रिय आशा बनाउँछ।

 

विशेष महाधिवेशनको नाममा पार्टीमा अस्थिरता ल्याउने प्रयासले अन्ततः लोकतान्त्रिक संस्थालाई कमजोर बनाउँछ। त्यसको सट्टा, कांग्रेसले सहमतिको माध्यमबाट जिम्मेवार संक्रमण सुनिश्चित गर्नुपर्छ। पुरानो नेतृत्वले गरिमापूर्ण ढंगले बाटो खुला गरोस्, नयाँ नेतृत्वले परम्पराको सम्मान गर्दै सुधारको यात्रामा अघि बढोस्। यही सन्तुलित रूपान्तरणले कांग्रेसको ऐतिहासिक भूमिकालाई पुनर्जीवित गर्न सक्छ।

 

नेपालमा अहिले राजनीतिक विश्वासको संकट छ। जनता विकल्प खोजिरहेका छन्। यदि कांग्रेसले आफ्नै घरमा लोकतन्त्र बलियो बनाउन सकेन भने त्यो विकल्प अरूले खोज्नेछन्। त्यसैले आजको सबभन्दा ठुलो काम पार्टीभित्र लोकतान्त्रिक अभ्यास र जवाफदेहीताको संस्कृतिलाई पुनःस्थापित गर्नु हो — जसको सुरुवात नियमित र सहभागी महाधिवेशनबाट हुनुपर्छ।

लेखक: शारदा लामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

लेखकको बारेमा

द पात्रो संवाददाता

पात्रो अपडेट
ट्रेन्डिङ